फाइल तस्वीर
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिक, प्लास्टिकजन्य वस्तुलगायतका फोहर बाल्न रोक लगाएको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न नपाउने भन्दै बालेको पाइएमा १० हजार रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ ।
चिसो बढेसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको पनि विभागले जनाएको छ । जाडो महिनामा काठमाण्डौ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ ।
प्रदूषण बढ्नमा खुला रूपमा बालिने वस्तुको महत्त्वपूर्ण हिस्सा छ । विभागकी प्रमुख सरिता राईका अनुसार जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यो निर्णय गरिएको हो ।
वायु प्रदूषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिहरूलाई बढी असर गर्छ ।









