‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो’, महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन। नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।’
निर्वाचनबाटै नयाँ संसद् आउने र संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो भन्ने कुरामा पार्टीभित्र कुनै अलमल नरहेको उनको भनाइ छ।
‘नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो’, थापाले थप भनेका छन्, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ।’