अर्घाखाँचीका थानेश्वर घिमिरे डेढ वर्षदेखि युनाइटेड अरब इमिरेट्स (यूएई) को यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) मा परेका छन् ।
एक नेपालीको मृत्यु प्रकरणमा जोडिएका उनीमाथि यूएईले डेढ वर्षदेखि यात्रा प्रतिबन्ध लगाइराखेको हो ।
अर्घाखाँची पाणिनी गाउँपालिका–८ का घिमिरे एक नेपाली महिलाको मृत्यु प्रकरणमा जोडिएको भन्दै यूएईले डेढ वर्षअघि यात्रा प्रतिबन्ध लगाएको थियो । जुन हालसम्म यथावत छ ।
यूएईस्थित नेपाली दूतावासका अनुसार सँगै बस्दै आएका एक नेपाली महिलाको मृत्यु प्रकरणमा उनी जोडिएका थिए । सँगै बस्दै आएका एक महिलाको शंकास्पद मृत्यु भएको थियो । श्रीमान र श्रीमतीबीच झगडा भएपछि ती महिला सडकमा मृत भेटिएकी थिइन् ।
घरपरिवारलाई घिमिरेले दिएको जानकारी अनुसार श्रीमान–श्रीमतीबीच झगडा हुँदा उनी शौचालयभित्र थिए । झगडा शान्त भएपछि बाहिर आउँदा ती महिला भित्र नदेखेपछि महिलाका श्रीमानलाई सोधेका थिए । त्यही क्रममा झ्यालबाट हाम फालेको भन्दै जानकारी गराएका थिए । त्यसपछि ती पुरुष फरार भएका थिए ।
घिमिरेले नै घटनाबारे प्रहरीलाई जानकारी गराएको र अनुसन्धानका लागि भन्दै प्रहरीले तीन दिन हिरासतमा लिएको थियो । घिमिरेकी दिदी लक्ष्मी घिमिरेले भाइ निर्दोष रहेको तर यात्रा प्रतिबन्धका कारण केही पनि गर्न नपाएको गुनासो गरिन् ।
दूतावासका अनुसार घटना गम्भीर प्रकृतिको भएकाले यूएईका सम्बन्धित निकायले अनुसन्धान पूरा नभएसम्म र कानुनी प्रक्रिया सकिएसम्म यात्रा प्रतिबन्ध हटाउन नसकिने स्पष्ट पारेको छ ।