गृहपृष्ठ Featured जेनजीका मधेश संयोजक भन्छन् : सिमरा घटना एमालेको सुनियोजित षड्यन्त्र हो

जेनजीका मधेश संयोजक भन्छन् : सिमरा घटना एमालेको सुनियोजित षड्यन्त्र हो

३ मंसिर, काठमाडौं।

बाराको सिमरा चोकमा मङ्गलबार जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएको जेनजी मधेश प्रदेश संयोजकले बताएका छन् ।

उनका अनुसार जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका जेनजी युवाले कुटपिट हुँदा दर्जनौं घाइते भएका मधेश प्रदेश संयोजक शिव यादवले बताएका छन् ।

जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र रहेको बताएका छन् ।

यादवका अनुसार, सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुँदै गर्दा परवानीपुरस्थित एमालेको कार्यक्रमबाट परिचालितले कार्यक्रम भाँडेका हुन् ।

जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्दै यसलाई आन्दोलनलाई बदनाम गर्ने दुष्प्रयास भनी यादवले बताएका छन् ।

घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै यादवले उनलाई मधेश निषेध गर्न र संलग्न गुण्डाहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

‘मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेशको शान्ति सुरक्षामै खलल पुर्‍याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु,’ उनले लेखेका छन् ।

सम्बन्धित् समाचार