गृहपृष्ठ Featured कपिलवस्तुमा फरार कैदीलाई नै चौकीदार नियुक्त गरेको खुलासा

कपिलवस्तुमा फरार कैदीलाई नै चौकीदार नियुक्त गरेको खुलासा

कपिलवस्तुको तौलिहवास्थित कारागारमा गत २३–२४ भदौको जेन–जी आन्दोलनमा फरार भएका कैदीलाई नै चौकीदार नियुक्त गरेको खुलेको छ ।

तौलिहवा कारागार प्रशासनका अनुसार जेल प्रशासनले जबर्जस्ती करणी कसुरका सद्दाम हुसेन मुसलमानलाई चौकीदारमा नियुक्त गरेको हो । उनी २४ भदौमा कारागारबाट फरार भएका थिए । कारागार प्रशासनको चेतावनीपछि उनी कारागार फिर्ता भएका थिए । फरार हुनुअघि उनी नै चौकीदार थिए ।

तौलिहवा कारागारका जेलर दलबहादुर बस्नेतले घटना सम्बन्धमा बुझेर मात्रै जानकारी दिन सकिने बताए । ‘सद्दाम हुसेन २४ भदौको जेन–जी आन्दोलनका क्रममा फरार भएका थिए । पछि उनी आफैँ फर्किए । त्यसअघि उनी चौकीदार थिए । अहिले उनी कैदमै छन् । तर, उनी हाल पनि चौकीदार रहे–नरहेको बुझेर मात्रै भन्न सक्छु,’ उनले भने ।

कारागार प्रशासनका अनुसार उनी ब्लक ‘बी’को चौकीदार हुन् । नियमअनुसार कारागारबाट फरार भएका कैदीलाई चौकीदार नियुक्त गर्न मिल्दैन । हुसेनअघि कारागारमा दामोदर थारू चौधरी चौकीदार थिए । जबर्जस्ती करणी कसुरका उनकै चलखेलपछि हुसेनलाई फरारपछि पनि पुन: चौकीदार नियुक्त गरिएको हो ।

हुसेनले चौधरीकै निर्देशनअनुसार अहिले काम गर्दै आएका छन् । कानुनअनुसार कारागारको आन्तरिक प्रशासनमा एक कैदी एकपटक मात्रै चौकीदार हुन पाउँछ । जसको करार अवधि वर्ष दिन तोकिएको छ ।

दोस्रोपटक आफू चौकीदार हुन नसक्ने भएपछि चौधरीले हुसेनलाई पुन: चौकीदारमा नियुक्त गर्न लगाएको प्रशासनको दाबी छ । कारागारमा २४ भदौअघि ४५० कैदीबन्दी थिए, त्यसमध्ये १२८ कैदीबन्दी अझै जेल फर्केका छैनन् ।

सम्बन्धित् समाचार