गृहपृष्ठ Featured बाणगंगाको मधुवनमा ‘भागीरथी गौ संरक्षण’ महोत्सव सुरु

बाणगंगाको मधुवनमा ‘भागीरथी गौ संरक्षण’ महोत्सव सुरु

कपिलवस्तुको बाणगंगा नगरपालिका–८, मधुवनमा श्रीमद्भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ तथा भागीरथी गौ संरक्षण महोत्सव सुरु भएको छ।

भागीरथी गौ संरक्षण विकास केन्द्र, बाणगंगा नगरपालिका र मधुवन धामलगायतका निकायको सहकार्यमा आयोजित महोत्सवको लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा  प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गरेका हुन्।

सो अवसरमा पूर्वमन्त्री विष्णु पन्थीले गौसंरक्षणलाई ‘सांस्कृतिक निरन्तरता र मानव–धर्मको मूल आधार’ भन्दै महोत्सवको प्रशंसा गरे। ‘उपेक्षित, घाइते र दुर्घटनामा परेका गाईहरूको उद्धार–उपचार गर्दै संरक्षणमा लाग्नु अत्यन्तै सम्मानजनक छ,’ पन्थीले भने। गौशालालाई पर्यटन, जैविक कृषि र सामाजिक सेवा तीनै क्षेत्रसँग जोडेर दीर्घकालीन नमुना केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार सहकार्य गर्न तयार रहेको पन्थीले बताए।

यस्तै, बाणगंगा नगर पालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले स्थानीय तह गौ संरक्षण केन्द्रलाई जिल्लाभरका छाडा तथा दुर्घटनाग्रस्त पशुहरूको सुरक्षित आश्रयस्थानको रूपमा अघि बढाउन प्रतिबद्धता रहेको बताए।

महोत्सवका निर्देशक गुणनिधि भुसालले गौशालालाई आत्मनिर्भर, दिगो र पर्यटनमुखी केन्द्र बनाउने योजनाको रहेको बताएका छन्।

वडा नम्बर ८ का अध्यक्ष बाबुराम अर्यालले गौसंरक्षण केन्द्रलाई नै नगरक्षेत्रका छाडा पशु व्यवस्थापनको प्रमुख जिम्मेवारी तोकिएको बताए। ‘नगरपालिकामा रहेका ५०० भन्दा बढी छाडा चौपायालाई क्रमशः यही केन्द्रमा पठाउने तयारी भइरहेको छ,’ अर्यालले भने।

भागीरथी गौ संरक्षण विकास केन्द्रका अध्यक्ष तथा महोत्सव संयोजक चक्रबहादुर भण्डारीले गौशालाको क्षमता विस्तार महोत्सवको मुख्य उद्देश्य रहेको बताए।

महोत्सवअन्तर्गत बिहान ५ः३० बजे योग–ध्यान, पूर्वाग, मूलपाठ, हवन, १०८ शालीग्राम पूजन, संगीतमय कथा वाचन, साँझको गंगा आरती, यज्ञप्रसाद वितरणदेखि रातिको भजन–कीर्तनसम्मका आध्यात्मिक कार्यक्रम गरिनेछ। कार्यक्रममा ११ सय सदस्यीय मूल आयोजक समिति गठन गरी ११ देखि १८ मंसिरसम्म महोत्सव सञ्चालन हुने बताए।

सम्बन्धित् समाचार