गृहपृष्ठ Featured सालझण्डी-ढोरपाटन सडक : तीन पटक म्याद थप्दा पनि मात्रै ६० प्रतिशत काम

सालझण्डी-ढोरपाटन सडक : तीन पटक म्याद थप्दा पनि मात्रै ६० प्रतिशत काम

बागलुङ ।

तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन।

ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ। सडकको बुर्तिबाङ-फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्दर ओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो।

२०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ। ३० महिनामा सक्नेगरी २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो। निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ।

यो म्याद पनि आगामी विसं २०८३ जेठसम्म छ। २५ करोड ६१ लाख ३१ हजार १६६ रुपैयाँमा उक्त खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सचना अधिकारी कृष्टिना थापाले जानाकारी दिए। अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उनको भनाइ छ। केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताए। यो अन्तिम म्याद रहेको बताउँदै उनले आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने बताए। निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उनले बताए।

‘लामो समय काम नहुँदा सडक अलपत्र परेको थियो, अहिले निर्माण कम्पनीले मेसिन र कामदार लगाएर काम गरिरहेको छ, सुरुबाटै काम गरेको भए एक वर्ष अगाडिनै सकिनुपर्ने हो, तर काम भएन’, उनले भने, ‘अहिलेको गतिमा काम भए त यो म्यादभित्र काम सकिन समस्या छैन, आशा गरौँ काम सकिएला।’

स्वच्छन्दर ओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताए। अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उनको भनाइ छ। पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिलेनै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाए।

२०६८ मा रूपन्देहीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पाहुँदै ढोरपाटन जोडिएको छ। रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो।

सम्बन्धित् समाचार