नवलपरासी- नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ ।
योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।
गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।
सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि दुई सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुलमध्ये अरुणखोलाको पुलमात्र निर्माणको काम बाँकी छ ।
अरुणखोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्य कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ ।








