नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिक मद्दतमा वेलिंगटन फिनिक्सले निन्जा ए लिगमा सानदार जित हासिल गरेको छ।
शनिबार भएको खेलमा वेलिंगटनले सिड्नी एफसीलाई ७–० को फराकिलो गोलअन्तरले हराएको हो।
वेलिंगटनको जितमा साम्बाले ह्याट्रिक गरिन्। साम्बाले खेलमो १३, ६९ र ८० मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक गरेकी हुन्।
खेलको तेस्रो मिनेटमा नै वेलिंगटनले १–० को अग्रता बनाएको थियो।
वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। साम्बाको गोलमा टोलीले अग्रता दोब्बर पारेको थियो।
३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा साम्बाको टोलीले खेलमा ३–० को आरामदायी अग्रता बनाएको थियो।
पहिलो हाफमा ३–० ले अग्रता बनाएको खेलमा वेलिंगटनले दोस्रो हाफमा ३ गोल थप्यो।
खेलको ५४औँ मिनेटमा ग्रेस जेलीले व्यक्तीगत दोस्रो गोल गर्दा वेलिंग्टनले ४–० को अग्रता लियो।
६९औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीले ५–० को फराकिलो अग्रता बनायो।
८०औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गर्दा वेलिगंटनले ६–० ले अघि रह्यो।
खेलको ९० मिनेटमा सातौँ गोल थप्दै वेलिगंटनले ए लिगमा ७–० को सानदार जित दर्ता गरेको हो। यसअघि फ्रान्समा व्यावसायिक लिग खेलेकी साम्बा यो सिजन वेलिंग्टनमा आबद्ध भएकी हुन्।








