गृहपृष्ठ Featured राप्ती र नारायणीमा ९ भाले घडियाल भेटिए

राप्ती र नारायणीमा ९ भाले घडियाल भेटिए

फाइल तस्वीर

काठमाण्डाै – चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी र नारायणी नदीमा नौ भाले घडियाल गोही गणना गरिएको छ । अतिसङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको प्रत्यक्ष गणना गर्ने क्रममा राप्तीमा सात र नारायणीमा दुई गरी नौ वटा भाले घडियाल गोही फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार दुवै नदीमा गरी तीन सय ६६ वटा घडियाल गोही फेला परेका छन् । राप्तीमा दुई सय ३१ र नारायणीमा एक सय ३५ घडियाल गोही फेला पारेका उहाँले बताउनुभयो ।

गएको वर्ष राप्ती र नारायणीमा तीन सय ५२ घडियाल गोही देखापरेकोमा यस वर्षको गणनामा राप्तीमा दुई सय छ र नारायणीमा एक सय ४६ घडियाल फेला परेका छन् ।

यस वर्ष नारायणीमा घडियालको सङ्ख्यामा कमी आएको छ भने राप्तीमा सङ्ख्या बढेको छ । निकुञ्जले वर्षेनि घडियाल प्रजनन केन्द्रमा हुर्काएको गोहीका बच्चालाई नारायणी र राप्तीमा छोड्ने गर्दा पनि समग्र गोहीको सङ्ख्या बढेको हो ।

नारायणी तथा राप्ती नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा मेशिनबाट बच्चा कोरलेर हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

गएको मङ्सिर २१ देखि २९ गतेसम्म गरेको घडियाल गोहीको नियमित अनुगमन कार्यबाट प्राप्त भएको नतिजा सार्वजनिक भएको हो ।

घडियाल गोहीको गणनाका क्रममा नारायणीमा एउट डल्फिन (साँस) समेत देखापरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो । नारायणीमा डल्फिन देखिनु जैविक विविधताको दृष्टिले सकारात्मक सङ्केत मानिएको पन्तले बताउनुभयो ।

 

 

सम्बन्धित् समाचार