नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भएर देशको सेवा गर्ने चाहना रहेको बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए।
‘यो पटक हुने चुनावमा नेकपा माओवादी पनि भिड्नेछ, त्यसमा तपाईहरुको पुस्तालाई पनि सहभागी गराउने हाम्रो चाहना छ। या चुनावमा सँगै जाने, देशभर जाने। हामीले जनतालाई अपिल गर्नेछौँ। यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ। हामीले बन्दुक पनि बोक्यौ, जेल पनि गयौं, किताब पनि पढ्यौं। अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौं, काम गर्छौं। यदी नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमीहरु एक चोटी गरेर देखाउ भनेर तपाईंहरुले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरू जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ, यो हामी गर्छौं,’ उनले भने।
महासचिव विप्लवले तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा भने आशंका जनाए।








