दाङ- लुम्बिनी प्रदेशमा विश्व ध्यान दिवस मनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यान अभ्यास तथा प्रशिक्षण कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले ध्यानको महत्त्व, आवश्यकता र निरन्तरताका विषयमा प्रशिक्षण दिएका थिए । साथै उनले सहभागीहरूलाई ध्यान अभ्यास पनि गराए ।
ध्यानले मानसिक, शारीरिक तथा संवेगात्मक रूपमा मानिसलाई स्वस्थ बनाउने भएकाले सबैले यसलाई दैनिक जीवनमा अपनाउनुपर्ने उनको भनाइ थियो ।
प्रदेश सरकारले निजामती सेवामा प्रवेश गर्ने कर्मचारी तथा सेवाकालीन तालिममा सहभागी हुने कर्मचारीहरूलाई अनिवार्य रूपमा ध्यान साधना गराउँदै आएको उनले स्पष्ट पारेका छन् ।
‘हरेक कार्यालयमा योग, ध्यान, सकारात्मक चिन्तन तथा आध्यात्मिक चिन्तनसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न जरुरी छ,’उनले भने,’मातहतका निकाय तथा कार्यालयहरूमा यससम्बन्धी परिपत्र समेत गरिसकेका छौं ।’








