गृहपृष्ठ Featured ओलीको स्थानहद फुकुवा गर्ने सरकारको तयारी !

ओलीको स्थानहद फुकुवा गर्ने सरकारको तयारी !

सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि तोकेको स्थानहद खोल्ने तयारी गरेको छ । आज सरकारका प्रतिनिधि र एमाले पदाधिकारीबीच एमाले मुख्यालय च्यासलमा भएको भेटका क्रममा यसबारे छलफल भएको हो ।

सञ्चारमन्त्री जगदीश खरेलसहितको सरकारी टोलीसँग एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीविरुद्ध तोकिएको स्थानहदबारे प्रश्न गरेका थिए । जवाफमा खरेलले एमाले चुनावमा प्रतिबद्ध भएर आए ओलीसहितका नेताहरूविरुद्ध तोकिएको स्थानहदबारे सरकार हदैसम्म लचक हुने जवाफ दिएका थिए ।

उक्त भेटमा सहभागी एमाले उपमहाचिव योगश भट्टराईले सञ्चारमन्त्री खरेलसहितको प्रतिनिधि टोलीसँग चुनावी वातावरण बनाउनेबारे दुवै पक्षबीच कुराकानी भएको जानकारी दिए । उनले सरकारले चुनावी वातावरण बनाउन हदैसम्म प्रयास गरेको भन्दै सबै दल र नेताहरूलाई निर्धक्क भएर चुनावमा जान भनेको बताए ।

सञ्चारमन्त्री खरेलले एमाले नेताहरूसँगको भेटपश्चात् सञ्चारकर्मीसँग बोल्दै एमालेले चुनावमा भाग लिनेबारे स्पष्ट रूपमा कुरा गरेको दाबी गरे । ‘एमाले सैद्धान्तिक रूपमा निर्वाचनमा भाग लिने भन्दै आएको थियो,’ खरेलले भने, ‘एमाले महासचिव शंकर पोखरेलले वातावरण बनाउनुस्, हामी निर्वाचनमा भाग लिन्छौँ भन्ने कुरा गर्नुभएको छ ।’

उनले चुनावको तयारीबारे निर्वाचन आयोगले काम गरिरहेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सुरक्षा निकायले उच्च मनोबलका साथ काम गरिरहेको जानकारी दिए । खरेलले चुनावी अभियानमा कुनै पनि नेता–कार्यकर्ता र जनतालाई अवरोध नहुने  गरी खुल्ला रूपमा भोट माग्ने र दिने कुराको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

‘विभिन्न राजनीतिक दलका नेता र नेतृत्वका स्थानहदका बारेमा सरकारले काम गरिरहेको छ,’ खरेलले भने, ‘चुनाव हाम्रो महायज्ञ हो, शुसासन महत्त्वपूर्ण पक्ष हो । भ्रष्ट्राचार नियन्त्रणमा सरकारले म्यान्डेट दिएइको छ । यी कुरालाई आत्मसात गर्दै कहाँकहाँ लचकता अपनाउनुपर्ने हुनसक्छ ? त्यसबारे वातावरण बनाउन सरकार तयार छ ।’

सम्बन्धित् समाचार