गृहपृष्ठ Featured ओलीले भनेः बयान चाहिने भए आयोगलाई घरमै पठाउनू

ओलीले भनेः बयान चाहिने भए आयोगलाई घरमै पठाउनू

काठमाडौँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा जाँचबुझ गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगमा बयान नदिने अडान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की समक्ष राखेका छन्।

मंगलबार राष्ट्रपति पौडेलले आह्वान गरेको प्रधानमन्त्री कार्कीसहितको प्रमुख तीन दलका नेताहरुको बैठकमा ओलीले आयोगप्रति आक्रोश पोखेका हुन्।

स्रोतका अनुसार ओेलीले अनावश्यक रुपमा आयोग गठन गरेको आयोग खारेज गर्न माग गरे।

उनले आयोगलाई बयान चाहिएको भए आफ्नै घरमा पठाउन कार्कीलाई चुनौती दिएको शितल निवास स्रोतले जानकारी दियो।

‘आयोग गठनको औचित्य छैन। यसलाई विघटन गरे हुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बयान चाहिएकै हो भने मेरो घरमा पठाउनू। म यसको काम छैन भनेर भनिदिन्छु।’

जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका रमेश लेखकलाई जाँचबुझ आयोगले मंगलबार बयानका लागि पत्र काटेको छ।

ओलीलाई पनि केही दिनभित्रै बयानका लागि पत्राचार गर्ने तयारी आयोगले गरिरहेका बेला राष्ट्रपति रामचन्द्रको सक्रियतामा आह्वान भएको शीर्ष बैठकमै ओलीले आयोगप्रति आक्रोश पोखेका हुन्।

करिब ४५ मिनेट बोलेका ओलीले आफूलाई लगाइएको स्थानहद पनि हटाउन ध्यानाकर्षण गराउन गराएका थिए।

सम्बन्धित् समाचार