बुटवल ।
सबै जिल्ला साक्षर घोषणा भएपछि सिंगो लुम्बिनी प्रदेशलाई नै ‘साक्षर प्रदेश’ घोषणा गर्न लागिएको छ । आउँदो आइतबार दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।
शिक्षालाई मानव विकासको मुख्य आधार मान्दै, प्रदेशले जीवनपर्यन्त सिकाइ र स्वाभाविक शिक्षालाई प्राथमिकतामा राखेर निरन्तर कार्यक्रम गर्ने गरी साक्षरता घोषणा गर्न लागिएको हो । साक्षरता दर सुधार गरेर, प्रदेशका सबै १२ जिल्ला साक्षर घोषित भएको र उच्च विद्यालय उत्तीर्ण दरमा पनि सुधार भएको छ । लुम्बिनीका १२ मध्ये ७ जिल्लाको साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेपछि साक्षर प्रदेश घोषणा गर्न लागिएको हो ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उपलब्धिका हिसाबले लुम्बिनी प्रदेशका १२ वटै जिल्ला साक्षर घोषणा भइसकेको बताए । ‘पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, रूपन्देही, बाँके, कपिलवस्तु लगायत जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ,’ उनले भने, ‘एसईई परीक्षाको नतिजामा पनि उल्लेखनीय सुधार देखिएको छ । शैक्षिक सत्र २०८० मा ३८ दशमलब ६५ प्रतिशत उत्तीर्ण दर रहेकामा २०८१ मा ६२ दशमलव ०६ प्रतिशत पुगेको छ ।’
साक्षरता दर उच्च भएका स्थानीय तहमा रूपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र पाल्पाको तानसेन नगरपालिका रहेको उनले बताए ।
सन् २०२४ को तथ्याङ्क अनुसार नेपालको मानव विकास सूचकाङ्क शून्य दशमलव ६२ रहेकामा लुम्बिनी प्रदेशको सूचकाङ्क शून्य दशलमव ६० सहित चौथो स्थानमा रहेको छ । नेपाल सरकारले अघि बढाएको ‘साक्षर नेपाल’ अभियानले १५ वर्षभन्दा माथिका सबै नागरिकलाई न्यूनतम साक्षर बनाउने लक्ष्य लिएको छ ।








