गृहपृष्ठ Featured रमेश लेखकले भने- ‘भदौ २४ को घटना नियोजित षडयन्त्र नै थियो’

रमेश लेखकले भने- ‘भदौ २४ को घटना नियोजित षडयन्त्र नै थियो’

जेनजी आन्दोलनका नाममा भदौ २४ गते भएको घटना नियोजित षडयन्त्र भएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्।

सोमबार जेनजी आन्दोलन जाँचबुझ आयोगमा दिएको लिखित बयानमा लेखकले जेनजी आन्दोलनको भोलिपल्ट नियोजित रुपममा आक्रमण भएको बताएका छन्। भदौ २३ गते जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा १९ जना आन्दोलनकाकारीको मृत्यु भएपछि भोलिपल्ट भदौ २४ देशव्यापी रुपमा आगजनी र तोडफोड भएको थियो।

त्यसबारे आयोगलाई दिएको बयानमा लेखकले कुनै नेपालीले कल्पना गर्न नसक्ने घटना भनेका छन्। ‘मेरो राजीनामापछि भदौ २४ गतेका दिन जे जस्तो हिंसात्मक एवं राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्रविरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न नसक्ने कुरा थिएनन्,’ तत्कालीन गृहमन्त्री लेखकले बयानमा भनेका छन्, ‘राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपतिको भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्तिनँ।’

यसलाई उनले नियोजित षडयन्त्र भनेका हुन्। लेखकले भनेका छन्, ‘लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तका प्रतिनिधि संस्थामाथिको आक्रमण जेनजी पुस्ताको सोच र योजनाभन्दा बिल्कुल बाहिरको विषय हो भन्ने म ठान्दछु। यो नियोजित षडयन्त्र नै थियो। यो राष्ट्र र लोकतन्त्रमाथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइँ छ।’

भदौ २३ र २४ गते भएका घटना क्षणिक आवेगमा मात्रै नभएको उनको ठम्याइँ छ। ‘देशभर एकसाथ भएको यो विनास तत्कालीन घटनाबाट उत्पन्न रीस र आवेगको उपज मात्र थियो भन्ने आधार म देख्दिनँ,’ जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भनेका छन्, ‘पूर्वतयारीका साथ सुनियोजित रुप्ले गरिएका आक्रमण, तोडफोड र आगजनीका घटना क्षणिक आक्रोश र आवेगमा हुनै सक्दैनन्।’

जेनजी पुस्ताले राखेका माग जायज भएको उनको भनाइ छ। जेनजी आन्दोलनका नाममा भएका घटना छानबिन गरेर त्यसमा संलग्न जोसकुैलाई पनि कारबाही गर्नुपर्नेमा उनले जोड दिएका छन्।

सम्बन्धित् समाचार