काठमाण्डाै – सरकारले रोकिएका तीन करोड रुपैयाँभन्दा कम बजेटका योजनाहरूको कतिपय बजेट फुकुवा गरेको छ । गएको असोजमा तीन करोड रुपैयाँभन्दा कम बजेटका एक हजारभन्दा धेरै आयोजना स्थगन गरेको भए पनि केही दिनयता सरकारले त्यस्ता आयोजनाहरूमा राखेको बजेट फुकुवा गर्न थालेको हो ।
अहिले स्थगन गरिएकामध्ये कतिपय आयोजना याेजना बैंकमा प्रविष्ट रहेको र तिनीहरूमा सरकारले लगानी गरिसकेकाले रोक्का बजेट फुकुवा गर्न थालिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले तीन वटा शर्त पूरा गरेका कतिपय आयोजनाहरूको स्थगन गरिएको बजेट फिर्ता गरिएको बताउनुभयो ।
गएको असोजमा गरिएको परिपत्रबाट एक हजार दुई सय वटा आयोजना स्थगित गरिए पनि कतिपय आयोजनाको तयारी पुगेको देखिएकाले त्यस्ता आयोजनाहरूको बजेट फुकुवा गरिएको उहाँको भनाइ छ ।
दोहोरो नपरेका आयोजनालाई अघि बढ्ने स्वीकृतिसमेत अर्थ मन्त्रालयले दिसकेको छ । सडक, पुल, खानेपानी, कृषि सम्बन्धित कतिपय रोकिएका आयोजनाहरूको बजेट बजेट फुक्का गरिएको अर्थ मन्त्रालयको भनाइ छ ।
भौतिक मन्त्रालय अन्तर्गत १० अर्ब तथा खानेपानीका दुई अर्ब रुपैयाँ बराबरका आयोजना फुकुवा भइसकेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रामहरि पोखरेलले बताउनुभयो । यस्तै शहरी विकास मन्त्रालयको ६२ अर्ब रुपैयाँका आयोजना रोक्का रहेकोमा क्रमशः फुकुवा हुँदैछन् ।








