शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानीखोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारीसाधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्गमा केही दिनदेखिका सवारीसाधनहरूको लामो जाम लागेको छ । शीतलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले सास्ती पाएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार विस्तारै–विस्तारै सवारीसाधनको जाम कटाए पनि बाक्लो हुस्सुसहित शीतलहर परेका कारण सवारीसाधन सञ्चालनमा निकै कठिनाइ भएको छ । नारायणगढ–बुटवल सडकखण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब पन्ध्र सय सवारीसाधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए ।
नारायणगढ–बुटवल सडकखण्ड योजना पश्चिमखण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालाका अनुसार सडक निर्माण भइरहेको स्थानमा शीतलहरका कारण बाटो हिलो भएर सवारीसाधन दाउन्नेको उकालोमा उक्लन समस्या भएको छ । अहिले खुर्सानीखोला क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको र मालबहाक सवारीसाधनलाई बर्दघाट, भुताहा क्षेत्रमा रोकिएको सूचना अधिकारी खनालले बताए ।
आयोजनाले एक सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको छ । पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारीसाधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैँडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै, काठमाडौंबाट बर्दघाट पश्चिम जाने र बुटवल–काठमाडौं जाने सवारीसाधनहरू काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।








