कपिलवस्तु ।
चौथो शितगंगा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०८२ को अवसरमा युनाइटेड अस्पतालले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरबाट ३०० भन्दा बढी सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्। शिविरमा मुटु सम्बन्धी ईसीजी परीक्षण, ब्लड सुगर तथा रक्तचाप ९ब्लड प्रेसर० जाँच गर्नुका साथै आवश्यक परामर्श र उपचार सेवा प्रदान गरिएको थियो।
आयोजकका अनुसार प्रेसर र सुगर रोगबाट पीडित बिरामीहरूलाई आवश्यक औषधिहरू समेत निःशुल्क रूपमा वितरण गरिएको थियो। शिविरमा बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. गोविन्द रावत, डा. सुमन श्रेष्ठ, डा. योगेन्द्र थापा लगायतका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवाग्राहीलाई परामर्श प्रदान गरेको थियो।
युनाइटेड अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले अस्पतालले विगतदेखि नै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
घर आँगनमै निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा पाउँदा स्थानीय बासिन्दाहरू उत्साहित देखिएका थिए।
यस किसिमका शिविरहरूले रोगको समयमै पहिचान हुनुका साथै समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको भनाइ छ।








