गृहपृष्ठ Featured बुटवलमा सञ्चालित १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ३० करोडको कारोबार

बुटवलमा सञ्चालित १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ३० करोडको कारोबार

बुटवलमा सञ्चालित १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सकिएको छ।

गत पुस ३ गतेदेखि सुरू भएको प्रदर्शनीमा ८ लाखभन्दा बढी उपभोक्ताले अवलोकन गरी ३० करोड रूपैयाँ हाराहारीको आर्थिक कारोबार गर्न सफल भएको आयोजकको दाबी छ।

स्वदेशी उत्पादनलाई सिधै उपभोक्तामाझ पुर्‍याउन सहज होस् भनेर रूपन्देही उद्योग संघले काठमाडौंबाहिर पहिलो पटक २०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो।

त्यसयता बुटवलका अन्य व्यावसायिक संघ–संस्थाहरूसँग आलोपालो गर्दै यस पटक १६ औं संस्करणको औद्योगिक प्रदर्शनी सम्पन्न भइसकेको छ।’समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नारालाई अगाडि सारेको रूपन्देही उद्योग संघले आयोजना गर्ने हरेक प्रदर्शनीमा स्वदेशी उत्पादनका वस्तु मात्रै प्रदर्शन र बिक्री–वितरणका लागि राखिन्छ।

यस पटक पनि मेसिनरी उद्योग, बेकरी, आइसक्रिम, अचार, कस्मेटिक, ग्रोसरी, प्लास्टिक, हस्तकला, फर्निचर, गार्मेन्ट, फुटवेयर, बाथ फिटिङ, कृषि लगायतका ४५० वटा स्टल राखिएका थिए।

नेपालको मध्य भागमा रहेको रूपन्देही औद्योगिक विकासको केन्द्रका रूपमा स्थापित छ। सयौं साना तथा मझौला उद्योगहरू मात्र होइन, इँटा, सिमेन्ट र स्टिल समेतका दर्जनौं ठूला उद्योगहरू यहाँ सञ्चालित छन्। हरेक वर्ष यहाँ आयोजना हुने एक दर्जनभन्दा बढी औद्योगिक प्रदर्शनी तथा मेला–महोत्सवहरूले यहाँ उत्पादित वस्तुको प्रदर्शन र बिक्री–वितरणमार्फत राष्ट्रिय अर्थतन्त्रमा बलियो इँटा थप्ने माध्यम बनिरहेका छन्।

अर्कोतर्फ नेपालका उत्पादनहरूबारे उपभोक्तालाई भेटेरै जानकारी गराउँदै नेपाली उत्पादनप्रति उपभोक्ताको विश्वास जगाउन र विदेशी आयात प्रतिस्थापन गर्न पनि भूमिका खेलेका छन्।

साना र मझौला लगानीका उत्पादनहरू, जो उपभोक्तासम्म सहज रूपमा पुग्न सक्दैनन्, त्यस्ता उत्पादनको बजार विस्तार गर्न प्रदर्शनी तथा व्यापार मेलाहरू सहयोगी बन्ने गरेका छन्।

प्रदर्शनीमा राखिने मेसिनरी र प्रविधिले स्थानीय उद्योगीहरूलाई आफ्नो उत्पादन प्रक्रिया सुधार गर्न र लागत घटाउन प्रेरित गर्न सक्छन्। प्रदर्शनीको अवधिभर कतिपयले प्रत्यक्ष रोजगारी पाउँछन् भने देशका विभिन्न भागबाट आउने अवलोकनकर्ताका कारण होटल, यातायात र पर्यटन क्षेत्र चलायमान हुन्छ।

काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएकाले पनि होला, रूपन्देहीलाई प्रदर्शनी र मेला–महोत्सवहरूको राजधानीका रूपमा समेत चिनाएको छ। पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण निराश भएका उद्यमीहरूलाई औद्योगिक प्रदर्शनीले नेपालमा अझै पनि लगानीको अवसर छ भन्ने सकारात्मक सन्देश दिएको छ।

‘आफ्नै गाउँठाउँको कच्चा पदार्थबाट वस्तु उत्पादन गरी मैले पनि व्यवसाय सञ्चालन गर्न सक्छु भन्ने आत्मविश्वास युवाहरूमा प्रदर्शनीले जगाइदिएको छ,’ रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले भने।

सम्बन्धित् समाचार