गृहपृष्ठ Featured एक महिना बढी समयदेखि ठप्प लुम्बिनी प्रदेश सभा अब माघीपछि मात्र !

एक महिना बढी समयदेखि ठप्प लुम्बिनी प्रदेश सभा अब माघीपछि मात्र !

बुटवल ।

एक महिनाभन्दा बढी समयदेखि ठप्प रहेको लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन माघी पर्व सकिएपछि मात्र बस्ने भएको छ। मङ्सिर ८ गते एक दिन बसेर स्थगित भएको प्रदेश सभाको बैठक दलहरूको व्यस्तता र चाडपर्वका कारण पर धकेलिएको हो।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले पुस महिनामा दलहरूको विभिन्न आन्तरिक काम परेको र अब माघी पर्व पनि नजिकिएकाले माघ ६ गतेदेखि बैठक राख्ने योजना रहेको बताए। लुम्बिनीमा अन्य क्षेत्रको तुलनामा माघी पर्व लामो समय मनाइने भएकाले पर्व सकिएलगत्तै सरासर बैठक बस्ने गरी सरकारसँग छलफल र तयारी भएको उनले जानकारी दिए।

सातौँ अधिवेशनको पहिलो बैठक मङ्सिर ८ गते बसेको थियो। त्यसयता काँग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलहरूको गतिविधि र अधिवेशनले गर्दा सांसदहरू व्यस्त हुँदा बैठक बस्न सकेको छैन। लामो समयसम्म संसद् नचल्दा जनताका मुद्दाहरू ओझेलमा परेको भन्दै साना दलका सांसदहरूले असन्तुष्टि जनाएका छन्।

पारदर्शी सरोकार केन्द्र बुटवलका अध्यक्ष लालहरि पाण्डेयले भदौदेखि नै जनताका समस्याबारे सांसदहरूले सदनमा बोल्न नपाएको बताए। सांसदहरू पार्टीको काममा बढी व्यस्त हुँदा सदनमा कम बोल्ने गरेको र जनजीविकाका सवाल तथा समसामयिक विषयमा प्रदेश सभामा गम्भीर छलफल हुन नसकेको उनको टिप्पणी छ।

सम्बन्धित् समाचार