गृहपृष्ठ Featured आईसीसी महिला टी-२० विश्वकप छनाेटका लागि नेपाली टाेली घोषणा

आईसीसी महिला टी-२० विश्वकप छनाेटका लागि नेपाली टाेली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । प्रतियाेगिता २२ माघदेखि ९ फागुनसम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुँदै छ ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली छानिएको हो । रुबी पोदार, सना प्रविन, ईश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउदले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

यस्तै, सीता रानामगर, सोमु विष्ट र काजल श्रेष्ठले टिममा पुनरागमन गरेका छन् ।

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसबाट शीर्ष चार टोलीले इंग्ल्यान्डमा हुने महिला टी-२० विश्वकपमा स्थान बनाउनेछ ।

नेपालसँगै थाइल्यान्ड स्कटल्यान्ड नेदरल्यान्ड्स र जिम्बाव्वे समूह `बी´ तथा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका समूह `ए´मा छन् । समूह चरणको खेलपछि शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछ ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो (उपकप्तान), विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी, मनीषा उपाध्याय ।

सम्बन्धित् समाचार