काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित आयोगलाई दिएको जवाफको मुख्य बुँदा पार्टी सचिव महेश बस्नेतले सार्वजनिक गरेका छन् ।
बस्नेतका अनुसार ओलीले २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको आयोगलाई जवाफ दिएका थिए ।
आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाले नै स्वीकार गरिसकेका र आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको ओलीले आयोगसमक्ष जवाफ दिएका छन् ।
“२३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय भएको थियो,” ओलीले आयोगलाई दिएको जवाफ भन्दै बस्नेतले फेसबुकमा बुँदागतरूपमा लेखेका छन्, “२४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको हो ।”
गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि र पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका अध्यक्ष ओलीले व्यक्त गरेको उनले बताएका छन् ।
आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको स्टेटमेन्ट लिएको थियो । स्टेटमेन्ट लिएपछि सोमबार आयोगले ओलीको स्थानहद फुकुवाको निर्णय गरेको छ ।








