गृहपृष्ठ Featured पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ताः देशको अस्तित्वमै प्रश्न उठ्न थालेको छ

पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ताः देशको अस्तित्वमै प्रश्न उठ्न थालेको छ

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशको भविष्य नै अनिश्चित बन्दै गएको संकेत गरेका छन्। ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जारी सन्देशमा उनले नेपाल निरन्तर संकटको चक्रमा फस्दै गएको उल्लेख गरेका हुन्।

नारायणहिटी राजदरबार परित्याग गरेको झन्डै दुई दशक बितिसक्दा पनि राजनीतिक स्थायित्व र राष्ट्रिय दिशाबोध स्थापित हुन नसकेकोतर्फ संकेत गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘एक समय देश निर्माण नभएकोमा चिन्ता थियो, आज भने देश जोगिन्छ कि जोगिँदैन भन्ने आशंका पैदा भएको छ।’

उनले आफू नेतृत्वमा रहेको राजसंस्थाले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा पहिचानका रूपमा भूमिका निर्वाह गरेको दाबी गर्दै जनताले सुम्पेको जिम्मेवारीबाट कहिल्यै पछि नहटेको उल्लेख गरेका छन्।

पूर्वराजा शाहले नेपाली समाजलाई कर्तव्य र जिम्मेवारीको भावनासहित अघि बढ्न आह्वान गर्दै ‘पृथ्वी पथ’ लाई राष्ट्रिय एकताको मार्गका रूपमा आत्मसात गर्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार संसारको जुनसुकै कुनामा रहे पनि नेपालीको पहिचान राष्ट्रसँग जोडिएको हुन्छ र राष्ट्रको प्रतिष्ठा कमजोर हुँदा नेपालीको सम्मान पनि प्रभावित हुन्छ।

सन्देशमा उनले बढ्दो वैदेशिक पलायनप्रति विशेष चिन्ता व्यक्त गरेका छन्। युवाशक्ति मात्र होइन, पुँजी, लगानीकर्ता र उद्यमशील व्यक्तिहरू समेत देश छाड्न थालेको प्रवृत्तिले नेपालको भविष्यप्रति गहिरो निराशा झल्किने उनको भनाइ छ।

सम्बन्धित् समाचार