भुपाल थापा, तौलिहवा ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै कपिलवस्तु जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको हो । तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा क्षेत्र नम्बर–१ का लागि बाणगंगा नगरपालिकाको कार्यालयमा, क्षेत्र नम्बर–२ का लागि जिल्ला समन्वय समितिको कार्यालय तौलिहवामा र क्षेत्र नम्बर–३ का लागि शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा, दुर्गा मन्दिर सभाहल भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन कार्य सम्पादनका लागि कपिलवस्तु जिल्ला अदालतका जिल्ला न्यायाधीश रमेश शर्मा पौडेललाई मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । त्यसैगरी क्षेत्र नम्बर–१ का लागि उच्च अदालत तुलसीपुरका उप–रजिस्ट्रार गणेश कुमार गौतमलाई निर्वाचन अधिकृतको रूपमा खटाइएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । यस्तै क्षेत्र नम्बर–३ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत कुवेर पाण्डेलाई निर्वाचन अधिकृतको रूपमा खटाइएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र रूपमा अगाडि बढेका छन् । मतदाता नामावली अद्यावधिक, निर्वाचन आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्थापन तथा राजनीतिक दलहरूसँग समन्वयजस्ता कामहरू सुरु भइसकेका छन् ।
निर्वाचन कार्यक्रम अघि बढ्न थालेसँगै जिल्लाका राजनीतिक दलहरू पनि चुनाव केन्द्रित कार्यक्रम र रणनीति बनाउन तयारीमा देखिएका छन । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रिया क्रमशः अघि बढ्नेछन् ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत कमल भुसालका अनुसार जिल्लामा कुल ३ लाख ९६ हजार २ सय ६५ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा १ लाख ४७ हजार ६५९ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा १ लाख ३० हजार २०२ जना मतदाता रहेका छन् । यस्तै, क्षेत्र नम्बर–३ मा १ लाख १८ हजार ४०४ मतदाता रहेका छन् । जिल्लाभर ४९० वटा मतदान केन्द्र र २३५ वटा मतदान स्थल तोकिएको छ ।
निर्वाचनलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु जिल्लामा राजनीतिक गतिविधि थप चहलपहल हुने अपेक्षा गरिएको छ ।







