एकताबद्ध भएर कांग्रेसलाई जिताउन आग्रह गरिएको पत्रमा कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको उल्लेख छ । “अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अगाडि बढ्नु पर्ने बेला आएको छ,” पत्रमा उल्लेख छ ।
पत्रमा शेरबहादुर देउवालाई पनि नाम नै उल्लेख गरेर सम्बोधन गर्दै सहयोगका लागि आग्रह गरिएको छ । “नेपाली कांग्रेसलाई आगडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पूर्ण साथ रहनेछ भन्ने पार्टीले विश्वास लिएको छ,” पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेस नवीन अध्यायमा प्रवेश गरेको भन्दै विभिन्न समूहमा रहेकालाई पार्टीमा फर्किन आग्रह गरिएको छ । यसअघि विभिन्न कारणबाट अलग भएका, विभिन्न राजनीतिक समूहमा क्रियाशील रहेका, निष्क्रिय रहेका र अन्यायको महसुस गरेकालाई आफ्नो आगनमा फर्किन अनुरोध गरिएको छ ।
नेपाली कांग्रेसका उमेदवारलाई विजयी गराउन पार्टीका सबै तहलाई परिचालन गर्न पत्रमार्फत आग्रह गरिएको छ ।









