गृहपृष्ठ Featured एक महिनामै ७७ हजार रुपैयाँले महँगियो सुन

एक महिनामै ७७ हजार रुपैयाँले महँगियो सुन

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य आकाशिने क्रम जारी छ। अस्वाभाविक रूपमा बढिरहेकाे सुन आज एकैदिन २० हजार रुपैयाँले महँगाे भएको छ।

पछिल्लो एक महिनामै सुन ७७ हजार २०० रुपैयाँ र १५ दिनमा ६२ हजारभन्दा धेरैले बढेकाे छ। गत पुस १५ गते २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन माघ १ गते २ लाख ७६ हजार ५०० रुपैयाँ थियो।

यस्तैगरी चाँदीको भाउ एक महिनामा झन्डै तीन हजार रुपैयाँ बढेको छ। पुस १५ गते प्रतितोला ४ हजार ५९० रुपैयाँ रहेकोमा आज ७ हजार ५०५ रुपैयाँ पुगेको छ। १५ दिनमा चाँदीको मूल्य २ हजार भन्दा (माघ १ गते ५,४८५) महँगो भयो।

सुनको मूल्यको विगत हेर्दा धेरै पर पुग्नै पर्दैन। दश वर्षकाे अविध पूरा नहुँदै सुनको मूल्यले ६ गुणाले बढेको देखिन्छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले राखेको दरअनुसार वि.सं.२०७३ साल माघ महिनामा छापावाल सुनको अधिकतम मूल्य ५६ हजार ३०० प्रतितोला र न्यूनतम मूल्य ५३ हजार २०० रुपैयाँ थियो।
यसैगरी एक तोला तेजाबी सुनको ५५ हजार ४०० रुपैयाँ पर्थ्यो भने चाँदी ७८५ देखि ८१५ रुपैयाँसम्ममा कारोबार भएको थियो। त्यो वर्ष (वि.सं. २०७३) भरी सुन न्यूनतम ५३ हजार २०० र अधिकतम मूल्य ५६ हजार ३०० प्रतितोलामा कारोबार भएको देखिन्छ।
आज (२०८२ माघ १५ गते) सम्म आइपुग्दा सुन एकतोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। यसरी हेर्दा नौ वर्षमा सुन २ लाख ८१ हजार बढीले महँगिएको छ।
अन्ताराष्ट्रिय बजारमा ५० वर्षअघि सुन
सन् १९७६ डिसेम्बरमा सुन प्रतिऔंस १३१ अमेरिकी डलर थियो, जुन १९८० मा ६८५ डलरसम्म पुग्यो। सन् १९८१ डिसेम्बर ३१ मा प्रतिऔंस ३९७.५० डलरमा झरेको सुनको मूल्यमा  २००० जनवरीमा २७९ डलरसम्म गिरावट आएको थियो।
२००३ पछि लगातार बढेको सुन २००९ को अन्त्यतिर १ हजार डलर नाघ्यो र २०१२ मा १७ सय ९० डलर पुग्यो। २०१८ मा आइपुग्दा फेरि घटेर सुन प्रतिऔंस ११ सय ७९ अमेरिकी डलरमा कारोबार भयो।
सन् २०१९ डिसेम्बरदेखि उकालो लागेको सुनको भाउ २०२० मा २ हजार डलर नाघ्यो। त्यो भाउ कायम रहन सकेन, त्यसयता घटबढ हुने क्रममा सुन सन् २०२२ मा १६ सय डलरसम्म झर्‍यो।
२०२४ सम्म आइपुग्दा सुन फेरि महँगि सुरु भयो र त्यस वर्षको जनवरी २० मा २०२८.५५ अमेरिकी डलर प्रतिऔंस पुगेको थियो। २०२४ देखि उकालो लागेको सुनको मूल्य २०२५ डिसेम्बरमा ४ हजार डलर नाघ्यो।
यो वर्ष (सन् २०२६) को सुरुदेखि अस्वभाविक रुपमा चुलिएको सुनको मूल्य आज (जनवरी २९मा) प्रतिऔंस ५ हजार ५५६ अमेरिकी डलर नाघेको छ।

सम्बन्धित् समाचार