गृहपृष्ठ Featured इरानमाथि आक्रमणको अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुग्यो

इरानमाथि आक्रमणको अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुग्यो

गेटी इमेजेज

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

सम्बन्धित् समाचार