वैखरी अनलाईन, बाणगंगा ।
नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौँमा हुन लागेको आसन्न ५६औँ महाधिवेशनमा कपिलवस्तुका वरिष्ठ उद्योगी–व्यवसायी यज्ञप्रसाद भट्टराईले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। भट्टराईले लुम्बिनी प्रदेश क्लस्टरबाट उम्मेदवारी घोषणा गरेका हुन्।
करिब चार दशकदेखि निरन्तर व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका भट्टराई कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन्।
उद्योग, व्यापार तथा निजी क्षेत्रका समस्या नजिकबाट बुझेका अनुभवी व्यवसायी भट्टराईले महासंघमा पुगेपछि प्रदेश र जिल्लाका व्यवसायीका आवाज केन्द्रसम्म पुर्याउने, साना तथा मझौला उद्यमीको हकहितका लागि नीतिगत सुधारमा पहल गर्ने, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई सबल बनाउने प्रतिबद्धता जनाएका छन्।
भट्टराईलाई केन्द्रीय सदस्य पदमा विजयी गराउन कपिलवस्तु जिल्ला र लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विशेष अभियान सञ्चालन गरिने कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिए।
उनले भट्टराईको अनुभव, इमान्दारिता र नेतृत्व क्षमताका कारण लुम्बिनी प्रदेशका उद्योगी–व्यवसायीको साझा उम्मेदवारका रूपमा समर्थन जुट्ने विश्वास व्यक्त गरे।








