नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुन लागेको निर्वाचन असाधारण परिस्थितिको, आकस्मिक ढंगले आइलागेको निर्वाचन भएकाले यसलाई सामान्य अर्थमा बुझ्न नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘असाधारण परिस्थितिको, आकस्मिक ढंगले यो निर्वाचन आइलागेको छ । यसमा हामी सहभागी हुँदै छौँ । त्यस कारण हामीले यसलाई सामान्य अर्थमा बुझेर हुँदैन । निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयासस्वरूप यो निर्वाचन अगाडि आएको हो ।’
संयोजक प्रचण्डले नेकपाको निर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै त्यस्तो धारणा राखेका हुन् । सो अवसरमा उनले नेकपामा १०, १५ हुँदै आजबाट २३ वटा घटक पुगेको पनि बताए ।
उनले भने, ‘१०, १५ हुँदै आजबाट २३ वटा पुग्दै छ र विभिन्न कम्युनिस्ट र समाजवादी घटक मिलाएर एउटा नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्पका साथ हामी अगाडि बढेका छौँ । म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु, तपाईंहरू ४० वरिपरिका लागि त प्रशस्त समय छ, अवसर आउँछ ।’








