सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ ।
आइतबार राति सर्लाहीको मलंगवा नगरपालिका– १० मा यादवमाथि गोली प्रहार गरिएको थियो । गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि उपचार सम्भव नभएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साहका अनुसार यादवको छातीमा गोली लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।
सिराहा निवासी यादव कार्यालयनजिकै मलंगवा– १० मा डेरा गरी बस्दै आएका थिए । यादवकी श्रीमती पुनमकुमारी यादवका अनुसार कोठामै रहेका बेला कसैले बाहिर बोलाएको र घरको गेटबाहिर पुग्नेबित्तिकै अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए ।
घटनापछि आक्रमणकारी फरार भएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








