गृहपृष्ठ Featured कपिलवस्तु-१ का एमाले उम्मेदवार चौधरीले भने- दक्षिणी क्षेत्रमा एमालेप्रति जनसमर्थन बलियो छ

कपिलवस्तु-१ का एमाले उम्मेदवार चौधरीले भने- दक्षिणी क्षेत्रमा एमालेप्रति जनसमर्थन बलियो छ

कपिलवस्तु ।

कपिलवस्तु । प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत नेकपा एमालेले कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा प्रचार–प्रसार गतिविधिलाई तीव्र बनाएको छ। पार्टीको बलियो संगठन रहेको वाणगंगा नगरपालिका तथा दक्षिणी क्षेत्रका पालिकामा नेता तथा कार्यकर्ता चुनावी अभियानमा सक्रिय देखिएका छन्।

यसैक्रममा मंगलबार वाणगंगा नगरपालिका वडा नं १ बैरियामा निर्वाचन केन्द्रित प्रचार–प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार विश्राम प्रसाद थारु (चौधरी) ले प्रतिस्पर्धी पक्षबाट विभिन्न किसिमका अफवाह फैलाइँदै आएको आरोप लगाउनुभयो। उहाँले दक्षिणी क्षेत्रमा एमालेको संगठन कमजोर रहेको र आफू उम्मेदवारका रूपमा परिचित नभएको भन्ने भ्रम फैलाइएको भन्दै त्यसप्रति खण्डन गर्नुभयो।

उम्मेदवार थारुले घरदैलो अभियानमा जाँदा दक्षिणी क्षेत्रका मतदाताबाट व्यापक साथ, सहयोग र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो। उहाँका अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले गरेका विकास निर्माण तथा जनमुखी कामका कारण मतदाता उत्साहित देखिएका छन्।

“कपिलवस्तु क्षेत्र नं १ विकास, पूर्वाधार र समृद्धिका हिसाबले अग्रपंक्तिमा छ, यसको प्रमुख श्रेय एमालेको नेतृत्वलाई जान्छ,” उहाँले मतदातामाझ स्पष्ट पार्नुभयो। पार्टीभित्र अवसर र लाभका लागि आउने–जाने क्रम चलिरहने भए पनि त्यसले नेकपा एमालेलाई कुनै असर नगर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै प्रदेश सभा सदस्य विष्णु पन्थीले आगामी दुई वर्षभित्र अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले पालिका, प्रदेश र संघीय तहमा विकासका दृष्टिले उल्लेखनीय काम सम्पन्न भइसकेको र बाँकी योजनाहरू पनि १–२ वर्षभित्र पूरा गरिने आश्वासन दिनुभयो।

नेता पन्थीले नेता–कार्यकर्ता ढुक्क भएर उत्साहका साथ परिचालन हुनुपर्नेमा जोड दिँदै हिजोको कपिलवस्तु र आजको कपिलवस्तुमा ठूला परिवर्तन देखिएको उल्लेख गर्नुभयो। सडक, भवन तथा अन्य पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको उहाँको भनाइ थियो।

कार्यक्रममा निर्वाचन परिचालन कमिटी संयोजक डम्मर शर्मा, प्रदेश कमिटी सदस्य तथा वाणगंगाका नगर प्रमुख चक्रपाणी अर्याल, जिल्ला उपाध्यक्ष शंकर पाण्डे, उमानाथ पौडेल, गंगा भट्टराई, राम प्रसाद गैरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष खगेरश्वर अधिकारीले गर्नुभएको थियो भने सञ्चालन सचिव सन्तोष गैरेले गर्नुभएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष चेत नारायण भट्टराईले व्यक्त गर्नुभएको थियो।

सम्पर्क कार्यालय सञ्चालनमा आएलगत्तै घरदैलो कार्यक्रमलाई अझ सशक्त, योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाइने, संगठनलाई थप चलायमान बनाइने तथा निर्वाचन लक्षित प्रचार–प्रसारलाई तीव्रता दिइने वडा कमिटी अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

सम्बन्धित् समाचार