पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले शनिबार रेलिगेसन क्षेत्रको एफसी मेट्जविरुद्ध ३–० को सहज जित निकालेको हो ।
पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीलाई जित दिललाउन डेसिरे डुए, ब्राड्ली बार्कोला र गोन्सालो रामोसले १–१ गोल गरे ।
खेलको तेस्रो मिनेटमै डुएको गोलमार्फत पीएसजीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा बार्कोलाले टोली अग्रता दोब्बर बनाए । रामोसले ७७औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गरे ।
जितसँगै पीएसजीले २३ खेलमा ५४ अंक जोडेको छ । यो दोस्रो स्थानको लेन्सको भन्दा २ अंक बढी हो । यता, पराजित मेट्ज २३ खेलबाट १३ अंकका साथ पुछारमा छ ।









