रुकुम पश्चिम- नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले आफ्ना नेता तथा जनप्रतिनिधिमाथि विभिन्न स्थानमा भएको भौतिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला निर्वाचन परिचालन समितिका संयोजक वसन्तकुमार शर्माले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाहरू नियोजित रहेको र यसले आसन्न निर्वाचनको शान्तिपूर्ण वातावरणलाई बिथोल्न खोजेको आरोप लगाएका हुन्।
विज्ञप्तिका अनुसार, २०८२ फागुन ११ गते मंगलबार जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’ र विद्यार्थी नेता गोविन्द मल्लमाथि बाँफिकोट गाउँपालिका–४ को लोछावाङ नजिकै कुटपिट भएको हो। समवेदना प्रकट गर्न मग्मातर्फ जाँदै गरेको अवस्थामा उनीहरूमाथि नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरू विकास अधिकारी र प्रकाश अधिकारीले हातपात गरेको नेकपाको दाबी छ।
त्यसैगरी, सोही दिन मुसिकोट नगरपालिका–९ अदुवारी नजिकै वडा सदस्य तथा जनप्रतिनिधि ओपेन्द्र ओलीमाथि पनि घेरा हाली कुटपिट गरिएको नेकपाले जनाएको छ।
हिलगाउँतर्फ जाँदै गर्दा भएको उक्त आक्रमणमा एमाले कार्यकर्ताहरू खिमलाल ओली, यामलाल ओली, देवीलाल ओली र प्रगतिशील लोकतान्त्रिक पार्टीका गोविन्द ओली संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ। घाइते ओलीको अवस्था र घटनाको प्रकृतिलाई लिएर पार्टीले घोर भर्त्सना गरेको छ।
पार्टीले यस किसिमका उच्छृङ्खल र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न प्रशासनसमक्ष जोडदार माग गरेको छ।
आगामी दिनमा यस्ता हर्कतहरू नदोहोर्याउन चेतावनी दिँदै, यदी कारबाही नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने चेतावनी समेत नेकपाले दिएको छ।








