कपिलवस्तु।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आशिष शर्मा समृद्ध कपिलवस्तु निर्माणको लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।
कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार रहेका शर्माले “गर्विलो इतिहास, समृद्ध वर्तमान, हाम्रो कपिलवस्तु–हाम्रो पहिचान” भन्ने मूल नारालाई केन्द्रमा राख्दै जिल्लाको समग्र विकास आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्।
वित्तीय तथा व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका शर्माले कपिलवस्तुको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, कृषिको आधुनिकीकरण तथा युवालाई स्वरोजगारसँग जोड्ने योजनामार्फत जिल्लाको समग्र विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन्।
सहकारी तथा मिटरब्याज पीडितहरूको समस्या समाधानलाई पनि उनले महत्वपूर्ण मुद्दाका रूपमा उठाएका छन्। पीडकको सम्पत्तिबाट असुलउपर गरी पीडितलाई राहत दिने र समस्याको द्रुत समाधानका लागि पहल गर्ने उनको भनाइ छ।
निर्वाचन कार्यालयले शर्मालाई चुनाव चिन्ह ‘जीप’ प्रदान गरेको छ।
युवा व्यवसायी तथा समाजसेवीका रूपमा परिचित शर्मा बाणगंगा नगरपालिका–११ का स्थायी बासिन्दा हुन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका उनी विकासमुखी सोच र परिणाममुखी नेतृत्व शैलीका कारण परिचित छन्।
कृषिको आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण तथा युवालाई उद्यमशीलता र रोजगारीसँग जोड्ने दीर्घकालीन दृष्टिकोणसहित कपिलवस्तुमा समावेशी विकासको अभियान अघि बढाउने उनको योजना रहेको छ।
शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए गरेका छन्। उनी चौधरी ग्रुपका पूर्व वरिष्ठ महाप्रबन्धक समेत हुन्। साथै नबिल बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, नेपाल एसबीआई बैंक तथा युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा सञ्चालक सदस्यका रूपमा काम गरिसकेका छन्।
त्यसैगरी सुपर मादी हाइड्रोपावर लिमिटेड र मिडल मोदी हाइड्रोपावर लिमिटेडमा कार्यकारी सञ्चालक समिति सदस्यको जिम्मेवारी समेत सम्हालिसकेका शर्मा आफ्नो व्यवस्थापकीय अनुभवलाई कपिलवस्तुको विकासमा प्रयोग गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताउँछन्।








