काठमाण्डौ – रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको छ ।
उद्धार तथा खोजीका क्रममा २० जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा रुकुम पूर्वका सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समीर कामी घाइते भएको र उहाँको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको छ । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलाका लागि छुटेको लु १ ज ४१६७ नम्बरको जीप हिजो दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापको भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री चढेको जीप दुर्घटना भएको हो ।





