सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले समाजमा जातीय विभेद तथा छुवाछुतका घटना अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउनुभएको छ । विगतको तुलनामा यस्ता घटनामा कमी आए पनि पूर्ण उन्मूलनका लागि अझै निरन्तर प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो ।
बाणगंगा नगरपालिकाले आयोजना गरेको लैंगिक हिंसा, जातीय विभेद, छुवाछुत तथा कुरीति–कुप्रथा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले लैंगिक हिंसा र छुवाछुत जस्ता सामाजिक विकृतिहरू एकैपटक अन्त्य गर्न सम्भव नहुने उल्लेख गर्नुभयो । उहाँले समाजका विभिन्न तह र समुदायमा कुनै न कुनै रूपमा विभेदको अवस्था विद्यमान रहेको भन्दै व्यवहार परिवर्तन र जनचेतना अभिवृद्धिमार्फत मात्र यस्ता विकृतिहरू नियन्त्रण गर्न सकिने बताउनुभयो ।
उहाँले संविधान र कानुनले सबै नागरिकलाई समान अधिकार प्रदान गरे पनि व्यवहारिक रूपमा अझै विभेदका घटनाहरू देखिने गरेको बताउनुभयो । यस्ता समस्याको समाधानका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुसिला पन्थले नगरपालिकाले लैंगिक समानता, महिला सशक्तीकरण तथा विभेदमुक्त समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
अन्य सरोकारवालाहरूले समेत जातीय विभेद, छुवाछुत र लैंगिक हिंसाविरुद्ध सामूहिक रूपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कानुन व्यवसायी गौमाया सुनार र हेमा न्यौपानेले सहजीकरण गर्दै सम्बन्धित कानुनी व्यवस्था, नागरिक अधिकार तथा सामाजिक दायित्वबारे जानकारी गराउनुभएको थियो ।









