गृहपृष्ठ Featured केही ठाउँमा ठूलो वर्षा, तापक्रम घट्यो

केही ठाउँमा ठूलो वर्षा, तापक्रम घट्यो

काठमाण्डौ – देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा डडेलधुरामा ४४ मिलिमिटर पानी परेको छ । पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री सेल्सियस रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ । अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ ।

तीन दिनअघि तराईका केही ठाउँमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो । गए राति पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ । धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासीपूर्व, तनहुँलगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भई नसकेको विभागको भनाई छ ।

सम्बन्धित् समाचार