गृहपृष्ठ खबर युनाइटेड अस्पतालमा जटिल हिप तथा पेल्भिक हड्डीको सफल शल्यक्रिया

युनाइटेड अस्पतालमा जटिल हिप तथा पेल्भिक हड्डीको सफल शल्यक्रिया

कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित युनाइटेड अस्पतालमा ३८ वर्षीय दिलिप कुमार चाईको कम्मर, हिप (कुल्हा) तथा पेल्भिक हड्डीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।

अस्पतालका अनुसार बिरामीको दायाँ हिप र कम्मरको तल्लो भाग जोडिने जोर्नीमा हड्डी भाँचिएको थियो। करिब ६ घण्टासम्म चलेको शल्यक्रियामार्फत भाँचिएको हड्डीलाई मिलाएर प्लेट र स्क्रु प्रयोग गरी उपचार गरिएको हो।

वरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा। समिर खानको नेतृत्वमा काठमाडौंस्थित स्टार हस्पिटलका हिप तथा पेल्भिक विशेषज्ञ चिकित्सक, युनाइटेड अस्पतालका चिकित्सक, एनेस्थेसियोलोजिस्ट डा। सुमन श्रेष्ठ, ओटी इन्चार्ज निसा श्रेष्ठलगायत १० सदस्यीय टोलीले शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ।

जटिल प्रकृतिको मानिएको उक्त शल्यक्रियापछि बिरामीको अवस्था स्थिर रहेको र आवश्यक चिकित्सकीय निगरानीमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। समिर खानले जानकारी दिनुभयो।

अस्पतालका अनुसार यस प्रकारको जटिल हाडजोर्नीसम्बन्धी शल्यक्रिया स्थानीय स्तरमै सफलतापूर्वक सम्पन्न हुनु क्षेत्रका बिरामीका लागि महत्वपूर्ण उपलब्धि हो। यसअघि यस्ता उपचारका लागि बिरामीहरूलाई काठमाडौंलगायत ठूला शहरका अस्पताल धाउनुपर्ने अवस्था रहेको थियो। अब भने विशेषज्ञ सेवा आफ्नै क्षेत्रमा उपलब्ध हुन थालेपछि बिरामी तथा उनका परिवारलाई समय, खर्च र झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ।

अस्पतालका निर्देशक सुन्दर आचार्यका अनुसार आगामी दिनमा घुँडा प्रत्यारोपण, हिप प्रत्यारोपण, घुँडाको लिगामेन्ट चोटपटकको आर्थ्रोस्कोपिक ९दुर्बिन प्रविधि० शल्यक्रिया, विभिन्न जोर्नीसम्बन्धी आर्थ्रोस्कोपी शल्यक्रिया तथा पित्तथैली, एपेन्डिक्स र हर्नियालगायतका दुर्बिन प्रविधिबाट गरिने शल्यक्रिया सेवा समेत विस्तार गरिनेछ।

यस उपलब्धिले कपिलवस्तुसहित प्रदेशका विभिन्न जिल्लाका नागरिकलाई आफ्नै क्षेत्रमै विशेषज्ञ हाडजोर्नी उपचार सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको अस्पतालको भनाइ छ। स्थानीय स्तरमै आधुनिक स्वास्थ्य सेवा उपलब्ध हुँदा बिरामीले समयमै उपचार पाउने, आर्थिक भार कम हुने तथा स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता र विश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।

सम्बन्धित् समाचार