वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूहले विद्यार्थी तथा शिक्षकसँग साझेदारी वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । जनता माध्यमिक विद्यालय पिपरा र पूर्णकेशर माध्यमिक विद्यालय बगदीमा आयोजित कार्यक्रममा वन संरक्षण, जैविक विविधता, वातावरणीय सन्तुलन तथा साझेदारी वनको महत्वबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकलाई साझेदारी वनको अवधारणा, वन स्रोतको दिगो व्यवस्थापन, वातावरण संरक्षण तथा समुदायको भूमिकाबारे सचेतना प्रदान गरिएको थियो । वनप्रति युवा पुस्ताको चासो र जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश प्रसाद जयसवालले वनले वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम गर्नुका साथै सामाजिक रूपान्तरणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
उहाँले वनको आम्दानीलाई समुदायको हित, विपन्न वर्गको सहयोग, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक विकासका गतिविधिमा उपयोग गर्दै आएको जानकारी दिनुभयो । साथै, भविष्यका पुस्तालाई वन र वातावरण संरक्षणको महत्व बुझाउन विद्यालयस्तरमा यस्ता अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा विद्यार्थीहरूले वन संरक्षण, वन्यजन्तु व्यवस्थापन तथा वातावरणीय चुनौतीका विषयमा जिज्ञासा राखेका थिए। कार्यक्रमले विद्यार्थीहरूलाई साझेदारी वनको महत्वबारे बुझ्न र वातावरण संरक्षणप्रति जिम्मेवार बन्न प्रेरित गरेको आयोजकले जनाएको छ ।







