गृहपृष्ठ Featured विश्वकप फुटबल : कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो नकआउट चरणमा

विश्वकप फुटबल : कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो नकआउट चरणमा

काठमाण्डौ – फिफा विश्वकप फुटबलको समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्षस्थानमा रह्यो । मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो ।

इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो । यो समूहबाट चार अङ्कसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कङ्गो नकआउट चरणमा पुग्न सफल भयो । डीआर कङ्गोले उज्बेकिस्तानमाथि ३–१ को पुनरागमन जीत निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो ।

खेलको १०औँ मिनेटमा एल्डोर शोमुरोडोभको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि ६८औँ मिनेटमा योवान विसाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । त्यसपछि ७८औँ मिनेटमा फिस्टन मायेलेले कङ्गोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

अहिले अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिनाबीच खेल हुँदैछ ।

सम्बन्धित् समाचार