सर्वोच्च अदालतमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ हुने भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिटमाथि बिहीबार न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो।
यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिटमा सुनुवाइ भएको थियो। उक्त इजलासले विशेष अदालतमा दायर भएको व्यापारी दिपक भट्ट र सुलभ अग्रवाल लगायत विरूद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र सम्बन्धी कसुर, बीमा सम्बन्धी कसुरका मुद्दाका फाइल मगाएको थियो।
ती फाइलहरू इजलासमा देखाएर लैजाने गरी पेस गर्न अदालतले आदेश गरेको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार ११ गते विपक्षीका नाममा कारण देखाउन आदेश दिएको थियो।
विभागले भने अनुसन्धानका लागि विशेष अदालतबाट म्याद लिइरहेको छ।
असार १५ गते पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई दोस्रो पटक थप तीन दिन हिरासतमा राख्न म्याद दिएको थियो।
यसअघि असार ९ गते विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।







