वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ले महिला उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित वडाभित्रका महिला उद्यमीलाई भान्सामा प्रयोग हुने सामग्री वितरण गरेको छ ।
शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाभित्रका ११ जना महिला उद्यमीलाई एक–एक थान इन्डक्सन चुलो, कुक्कर तथा कराई वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा नं. ४ का वडाध्यक्ष छविलाल रेस्मी मगरले महिलाको आर्थिक सशक्तीकरण वडाको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले साना तथा घरेलु उद्यम सञ्चालन गरिरहेका महिलाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको उल्लेख गर्दै यसले उनीहरूको उत्पादन क्षमता वृद्धि गर्नुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडाध्यक्ष मगरले महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउन वडाले विभिन्न सीपमूलक तालिम, उद्यम विकास तथा आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले महिलाको आर्थिक सशक्तीकरण बिना समग्र समाजको विकास सम्भव नरहेको बताउनुभयो । उहाँले महिलाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस्ता सहयोगले महिलालाई आत्मनिर्भर बन्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख चौधरीले नगरपालिकाले महिला, दलित, विपन्न तथा लक्षित समुदायको आयआर्जन वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउँदै प्राप्त सामग्रीलाई प्रभावकारी रूपमा प्रयोग गरी आफ्नो व्यवसायलाई अझ सफल बनाउन महिला उद्यमीहरूलाई आग्रह गर्नुभयो ।
वडा कार्यालयका अनुसार सामग्री प्राप्त गर्ने ११ जना महिला उद्यमीमध्ये ४ जना महिलाले अटो रिक्सा सञ्चालन गर्दै आउनुभएको छ भने अन्य महिलाहरू विभिन्न साना तथा घरेलु उद्यममा आबद्ध हुनुहुन्छ ।
महिला उद्यमीहरूको दैनिक कार्यलाई सहज बनाउँदै उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पु¥याउने उद्देश्यले इन्डक्सन चुलो, कुक्कर तथा कराई वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।








