गृहपृष्ठ Featured मायादेवी गाउँपालिकाको चेतावनी ः कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने कारबाहीमा पर्ने

मायादेवी गाउँपालिकाको चेतावनी ः कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने कारबाहीमा पर्ने

दुर्गेश मिश्र, संवाददाता , मायादेवि ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाले एलपी ग्यास र कृषि मलखादमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेको भन्दै व्यवसायी तथा डिलरहरूलाई कडा चेतावनी दिएको छ।

गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै उपभोक्तासँग सरकारले तोकेको मूल्यभन्दा बढी असुल्ने अत्यावश्यक वस्तु लुकाएर भण्डारण गर्ने र कृत्रिम अभाव देखाई महँगोमा बिक्री गर्ने कार्य गैरकानुनी भएको जनाएको छ। यस्ता गतिविधिले उपभोक्तालाई प्रत्यक्ष मार पर्नुका साथै बजार व्यवस्थापनमा समेत समस्या ल्याएको गाउँपालिकाको भनाइ छ।

सूचनामा उद्योगी, व्यवसायी र डिलरहरूलाई अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गरी तोकिएको दररेटमै बिक्री–वितरण गर्न आग्रह गरिएको छ।

कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कडा कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ।

गाउँपालिका अध्यक्ष बलिउद्दिन मुसलमान ले बजारमा उपभोक्ताको हकहित संरक्षण गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै सबै सरोकारवालालाई जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो।

सम्बन्धित् समाचार