गृहपृष्ठ Featured ७५ वर्ष देश लुट्नेहरूले प्रमाण नष्ट गर्न अदालत र सिंहदरबार जलाए- खगेन्द्र सुनार

७५ वर्ष देश लुट्नेहरूले प्रमाण नष्ट गर्न अदालत र सिंहदरबार जलाए- खगेन्द्र सुनार

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले भदौ २३ को जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले कारबाही हुन्छ भन्दै सरकारलाई प्रश्न सोधेका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले धेरै आमाहरूले आफ्ना सन्तानको हत्या गर्नेलाई कहिले कारबाही हुन्छ भनेर सोधेको बताएका हुन्।

‘भदौको २३ गते बानेश्वरमा राज्यले हत्या गरेपछि मेरी आमाले अहिलेसम्म चित्त बुझाउन सकेकी छैनन्। मेरी आमा जस्तै यहाँका धेरै जेनजीका आमाहरूको प्रश्न छ- मेरो छोरो हतियारधारी थियो कि आतंककारी थियो? के कारणले गर्दा हत्या गरियो? आमाहरूको यो पनि प्रश्न छ− अहिले आरक्षभित्र बाँदर मार्नेलाई कारबाही हुन्छ भने बानेश्वरमा जेनजी मार्नेलाई कहिले कारबाही हुन्छ?’

जेनजी मारिएपछि  आक्रोसित भएर भदौ २४ मा आन्दोलित भएकाहरूलाई नेल लगाएर थुनामा राखिएको तर जेनजीको हत्या गर्नेहरू खुलेआम हिँडिरहेको तर्फ सरकारको ध्यान जानुपर्ने उनले बताए।

‘त्यतिबेला अघिल्लो दिन आफन्तको मृत्युको पीडा सहन नसकेर भदौ २४ गते आन्दोलनमा होमिएकाहरू विभिन्न आरोपमा जेलमा नेल लगाएर बसिरहेका छन्। तर २३ गते गोली हान्ने हत्याराहरू बालमा तेल लगाएर अहिले पनि बजारमा घुमिरहेका छन्। तीनलाई कहिले कारबाही हुन्छ म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘जेनजी आन्दोलन हुँदै गर्दा सिंहदरबार कसले जलायो भनेर अहिले संसारभरि प्रश्न उठिरहेको छ। यसमा अलमल ढलमल गर्नुपर्ने केही छैन। भिडियोमा देखिएकाहरू थुनिएका छन्, संसारले देखेकालाई कहिले थुन्ने हो म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’

सिंहदरबार कसले जलायो? भन्ने प्रश्न अघि सार्दै उनले जवाफ पनि दिए- जसले ७५ वर्ष देश चलायो, जसले जेनजीमाथि बानेश्वरमा गोली चलायो, उसैले सिंहदरबार जलायो।’

उनले ७५ वर्ष सत्ता चलाउनेहरूले देश लुटेको प्रमाण नष्ट गर्न अदालत र सिंहदरबार जलाएको पनि बताए।

‘हाम्रो सिंहदरबारसँग कुनै पनि दुस्मनी थिएन। अदालतसँग दुस्मनी थिएन। यो संरचनासँग केही पनि दुस्मनी थिएन। जसले आँखा मिलाएर, भाखा मिलाएर कागज मिलाएर यो देशलाई ७५ वर्षसम्म लुटेर खाएका थिए तिनैले आफ्नो प्रमाण नष्ट गर्नलाई अदालतमा आगो लगाएका हुन्। सिंहदरबारमा आगो लगाएका छन्। यसको सत्यतथ्य संसारले बुझ्न पाउनुपर्छ। र तिनमाथि कारबाही हुनुपर्छ,’ उनले भने।

उनले अहिलेका नेतासँग ‘कालो धन’ नभएको पनि दाबी गरे।

सम्बन्धित् समाचार