गृहपृष्ठ Featured १७ औं कपिलवस्तु महोत्सव मंसिर १७ देखि २९ गतेसम्म आयोजना हुने

१७ औं कपिलवस्तु महोत्सव मंसिर १७ देखि २९ गतेसम्म आयोजना हुने

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु उद्योग वाणिज्य संघले १७औँ कपिलवस्तु महोत्सव आगामी मंसिर १७ गतेदेखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। बाणगंगा नगरपालिकास्थित बुद्धरंगशालामा सञ्चालन हुने महोत्सवको तयारीलाई संघले औपचारिक रूपमा अगाडि बढाएको हो।

संघको शुक्रबार आफ्नै सभाहलमा बसेको कार्यसमिति बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले यस वर्षको महोत्सव विगतका संस्करणभन्दा फरक, व्यवस्थित र आकर्षक ढंगले सञ्चालन गरिने बताए।

उनले महोत्सवलाई केवल व्यापारिक मेला मात्र नभई स्थानीय उत्पादन, कृषि, उद्योग, पर्यटन, लघु तथा घरेलु उद्यम, कला, संस्कृति र मनोरञ्जनको साझा उत्सवका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे। महोत्सव सफल बनाउन विभिन्न उपसमिति गठन, आवश्यक व्यवस्थापन तथा प्रचारप्रसारका काम चरणबद्ध रूपमा अघि बढाइने अध्यक्ष क्षेत्रीको भनाइ छ।

बैठकमा संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष उमानाथ पौडेल, सल्लाहकार शक्ति सिंह ठकुरी, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सहभागिता रहेको महासचिव नवदत्त घिमिरेले जानकारी दिए।

महासचिव घिमिरेका अनुसार बैठकले महोत्सवको प्रारम्भिक तयारीसँगै संघका नियमित प्रशासनिक तथा संस्थागत विषयमा पनि निर्णय गरेको छ। बैठकबाट लेखापरीक्षक नियुक्त गर्ने, सदस्यता नवीकरण प्रक्रिया अगाडि बढाउने तथा संघमा प्राप्त विभिन्न पत्रहरूमाथि आवश्यक निर्णय गर्ने निर्णय गरिएको उनले बताए।

संघले महोत्सवमार्फत स्थानीय उत्पादनको बजारीकरण, उद्योग–व्यवसाय प्रवर्द्धन, कृषि तथा पर्यटन क्षेत्रको प्रचारप्रसार, लगानी आकर्षण तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।

 

महोत्सवको विस्तृत कार्यक्रम, स्टल व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता, प्रतियोगिता तथा अन्य आकर्षणका विषयमा आगामी दिनमा सार्वजनिक गरिने संघले जनाएको छ।

सम्बन्धित् समाचार