गृहपृष्ठ Featured हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ – बालेन

हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ – बालेन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा नभएको बताएका छन्।

आज (शुक्रबार) मधेशवादी दलका नेताहरू छलफल गर्दै उनले हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नभएको बताएका हुन्।

‘हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, तराई/मधेसमा हिन्दू राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ। पहाडतिरको अर्को मर्म छ,’ बालेनको भनाइ उद्धृत गर्दै जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले भने, ‘राजा ल्याउने पक्षमा छैनौँ। त्यसले संघीयतालाई कमजोर गर्छ।’

नेताहरूले बालेनलाई हिन्दू राष्ट्रका विषयमा प्रश्न गरेका थिए। जवाफमा बालेनले भनेका थिए, ‘हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउँछ अहिले त्यसो गर्दा ठिक हुँदैन। संघीयताको कमिटमेन्ट पनि म पूरा गरेर जान्छु।’

जसपा नेपाल महासचिव शर्माले हिन्दू राष्ट्र र राजाको बारेमा प्रधानमन्त्री बालेनको प्रस्ट धारणा देखिएको बताए।

बैठकमा बालेनले आफू र आफ्नो पार्टी रास्वपा संघीयताका पक्षमा प्रतिबद्ध रहेको धारणा राखेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए।

साथै बालेनले छानबिन प्रतिवेदनमा दोषी देखिएकाहरूलाई कारबाही गर्ने र पीडितसँग भएका सम्झौताहरू कार्यान्वयन हुनेमा ढुक्क हुन भनेका थिए।

‘केही तत्वहरूले साम्प्रदायिक दंगा गराएर स्वार्थ सिद्ध गर्न खोजिराखेका छन्, त्यसविरुद्ध तपाईं हामी सबै मिलेर लड्नुपर्नेछ,’ बालेनको भनाइ उद्धृत गर्दै महतोले भने, ‘तराई/मधेसमा देखिएको साम्प्रदायिक दंगालाई साम्य पार्न सरकार लागिरहेको छ। तपाईंहरूले पनि साथ दिनुपर्‍यो। आ-आफ्नो ठाउँबाट सबै लागौँ।’

दलका नेताहरूले गृहमन्त्रीले सुनसरीमा गरेको सम्झौता कार्यान्वयन गर्न ध्यानाषर्कषण गराएका थिए। ‘विगतका सरकारले सम्झौताहरू कार्यान्वयन गरेनन्, यो सरकारले त्यसो नगरोस्, तपाईंहरूलाई परिवर्तनका लागि सत्तामा पठाएका हुन्। सबै ठाउँमा परिवर्तन भएको महसुस हुने गरेर काम गर्नुहोला भनेर हामीले भन्यौँ,’ महतोले भने।

प्रधानमन्त्रीले मधेशकेन्द्रित दलहरूसँग २ घण्टा छलफल गरेका थिए।

सम्बन्धित् समाचार