ट्राफिक नियमबारे दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि कपिलवस्तुमा सडक दुर्घटना घट्न सकेको छैन। पछिल्लो चार दिनमै भएका विभिन्न दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने चालु आर्थिक वर्ष सुरु भएको १३ दिनमै ३० वटा सवारी दुर्घटना भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन १ देखि १३ गतेसम्म भएका दुर्घटनामा ६ जनाको मृत्यु र ३० जना घाइते भएका छन्। साउन ९ देखि १३ गतेसम्म मात्र तीन स्थानमा भएका दुर्घटनाले ६ जनाको ज्यान लिएको हो।
साउन ९ गते शुद्धोधन गाउँपालिका–६, बिमिहा चोक नजिक भैरहवातर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा रामबहादुर चाइ (३०) र सर्जु चाइ (२८) को मृत्यु भएको थियो।
यस्तै, साउन १२ गते महाराजगञ्ज नगरपालिका–२, गैडहवामा ट्रकको ठक्करबाट १२ वर्षीय आनन्द कश्यप, ७५ वर्षीय भोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको ज्यान गएको थियो।
सोही दिन मध्यराति शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा टिप्परको ठक्करबाट करिब ४५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।
एक वर्षमा १,३३५ सचेतना कार्यक्रम
जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा विद्यार्थी, चालक, व्यवसायी, यात्रु तथा सर्वसाधारणलाई लक्षित गरी १ हजार ३३५ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। तर, दुर्घटनाको संख्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन।
ट्राफिक प्रहरीका अनुसार तौलिहवा–बहादुरगञ्ज २७ किलोमिटर सडकखण्ड दुर्घटनाको उच्च जोखिममा रहेको छ। उक्त सडकमा जडान गरिएका केही पक्की डिभाइडर अनुपयुक्त स्थानमा निर्माण गरिएकाले दुर्घटनाको जोखिम बढेको प्रहरीको निष्कर्ष छ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले चालक र यात्रुको लापरबाही, सडकको अवस्था, सडक पेटी अतिक्रमण तथा छाडा चौपायाका कारण अधिकांश दुर्घटना हुने गरेको बताए।
उनका अनुसार ट्राफिक प्रहरीले डिभाइडरमा रिफ्लेक्टिभ लाइट, सचेतनामूलक फ्लेक्स तथा नियमित जनचेतना कार्यक्रम सञ्चालन गरे पनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन।
“हामीले दुर्घटना न्यूनीकरणका लागि दिनहुँजसो कार्यक्रम सञ्चालन गरिरहेका छौँ, तर त्यसले अपेक्षित परिणाम दिएको देखिएन,” निरीक्षक ढकालले भने।
उनले सडकको अवस्था सुधार, सडक पेटी खाली गराउने, ट्राफिक नियमको कडाइका साथ पालना र चालकमा अनुशासन कायम भए मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले पनि बढ्दो सवारी चाप, कमजोर सडक पूर्वाधार, ट्राफिक नियम उल्लंघन, लाइसेन्सबिनै सवारी चलाउने, सहचालकलाई गाडी चलाउन दिने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिले दुर्घटना बढाएको बताए।
प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कपिलवस्तुमा ६८५ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो भने १ हजार २११ जना घाइते भएका थिए।







