वैखरी अनलाइन, कपिलवस्तु ।
विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले कपिलवस्तुका विभिन्न स्थानबाट फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्मानित कपिलवस्तु जिल्ला अदालतमा पेश गरेको हो।
पक्राउ पर्नेमा विजयनगर गाउँपालिका–५ निवासी धिरेन्द्र सिंह चौधरी रहेका छन्। उनी विगो वापत कैदमा राखी पाउँ भन्ने मुद्दामा २ वर्ष कैद सजाय पाएका थिए।
यस्तै, बाणगंगा नगरपालिका–७ निवासी सुमन परियारलाई कारागारबाट फरार भएको डाँका मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी बाणगंगा नगरपालिका–९ निवासी विनोद भुसाललाई सरकारी छाप सम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको छ। उनी उक्त मुद्दामा ११ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी हुन्।
प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।







