कपिलवस्तु।
वाणगंगा नगरपालिकामा पछिल्लो एक आर्थिक वर्षमा जन्मभन्दा मृत्युको संख्या कम भए पनि व्यक्तिगत घटना दर्ताको अभिलेखमा जन्मदर तुलनात्मक रूपमा न्यून देखिएको छ। नगरपालिकाको पञ्जिकाधिकारी शाखाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नगरभित्र १ हजार ३ सय ८२ जना शिशुको जन्म दर्ता भएको छ।
स्थानीय पञ्जिकाधिकारीको कार्यालय वाणगंगाका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ असार ३२ गतेसम्म नगरपालिकाका सबै वडामा दर्ता भएका व्यक्तिगत घटनाको विवरणअनुसार जन्म दर्ता भएकामध्ये ७ सय पुरुष र ६ सय ८२ महिला छन्।
पञ्जिकाधिकारी शाखा प्रमुख दीपक पाण्डेका अनुसार समग्र व्यक्तिगत घटना दर्ताको अभिलेख हेर्दा नगरपालिकामा जन्मदर न्यून देखिएको छ। नगरपालिकाको जनसंख्या र व्यक्तिगत घटना दर्ताको पछिल्लो विवरणलाई हेर्दा जन्मदरमा कमी आएको देखिएको उनको भनाइ छ।
मृत्यु र सम्बन्ध विच्छेद पनि उल्लेख्य
एक आर्थिक वर्षमा वाणगंगा नगरपालिकाभित्र ५ सय ९४ जनाको मृत्यु दर्ता भएको छ। मृत्यु हुनेमध्ये ३ सय ४९ पुरुष र २ सय ४५ महिला रहेका छन्। यी विभिन्न उमेर समूहका रहेका छन् ।
यसैगरी, श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेदका १ सय १५ वटा घटना दर्ता भएका छन्। सो अवधिमा ७ सय २८ जनाको विवाह दर्ता भएको नगरपालिकाको अभिलेखमा उल्लेख छ।
नगरपालिकामा बसाइँसराइको संख्या भने उल्लेख्य देखिएको छ। एक वर्षको अवधिमा वाणगंगामा अन्य स्थानबाट बसाइँ सरी आउनेको संख्या १ हजार ६ सय ७५ रहेको छ भने वाणगंगा छाडेर अन्यत्र बसाइँ सरी जानेको संख्या ३ सय ७० रहेको छ।

वडा नं. ८ मा सबैभन्दा बढी बसाइँसराइ
वडागत विवरणअनुसार वाणगंगा नगरपालिका–८ मा सबैभन्दा बढी मानिस बसाइँ सरी आएका छन्। उक्त वडामा एक वर्षमा ३ सय ८१ जना बसाइँ सरी आएका छन्। त्यस्तै, सोही वडाबाट अन्यत्र बसाइँ सरी जानेको संख्या भने तुलनात्मक रूपमा न्यून रहेको छ। वडा नं. ८ बाट १७ जना अन्यत्र बसाइँ सरेका छन्।
जन्म दर्ताको विवरणअनुसार नगरपालिकामा सबैभन्दा कम जन्म वडा नं. ३ मा भएको छ। सबैभन्दा बढी जन्म दर्ता भने वडा नं. ८ मा भएको नगरपालिकाले जनाएको छ। सम्बन्ध विच्छेदका घटना पनि वडा नं. ८ मै सबैभन्दा बढी दर्ता भएका छन्।
२०७८ को जनगणनाअनुसार वाणगंगाको जनसंख्या ९६ हजार ७१४
राष्ट्रिय जनगणना २०७८ अनुसार वाणगंगा नगरपालिकाको कुल जनसंख्या ९६ हजार ७ सय १४ रहेको छ। जसमध्ये महिला ५१ हजार ३ सय ७ र पुरुष ४५ हजार ४ सय ७ जना रहेका छन्। २०८४ सम्ममा याे जनसंख्यामा केही बढेकाे छ । वाणगंगा नगरपालिकामा थारु, ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, दलित, यादव र मुस्लिमलगायत विभिन्न जातजातिको बसोबास रहेको छ।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ गरी पाँच प्रकारका घटना व्यक्तिगत घटना दर्ताअन्तर्गत पर्दछन्। नगरपालिकाको पछिल्लो अभिलेखले जन्मदर, मृत्यु, वैवाहिक सम्बन्ध, सम्बन्ध विच्छेद तथा जनसंख्याको बसाइँसराइसम्बन्धी चेतनामुलक कार्यक्रम तथा प्रचार प्रसार भने कमी भएकाे देखिन्छ ।








